अमेरिका र इरानबीच एकअर्कामाथिको सैन्य आक्रमण तत्कालका लागि रोक्ने सहमति भएको छ भने मध्यपूर्वको तनाव अन्त्य गर्न कूटनीतिक वार्ता निरन्तर अघि बढाउने सहमति पनि भएको अमेरिकी अधिकारीले आइतबार जानकारी दिएका छन्।
गत जुन १७ मा भएको प्रारम्भिक समझदारीपछि पनि दुवै पक्षबीच केही सैन्य आक्रमण भएका थिए। फेब्रुअरीको अन्त्यदेखि जारी द्वन्द्वका कारण विश्वकै महत्वपूर्ण हर्मुज जलडमरु हुँदै हुने अन्तर्राष्ट्रिय ढुवानीसमेत प्रभावित भएको थियो।
समझदारीअनुसार इरानले हर्मुज जलडमरु हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ भने अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने सहमति गरेको छ।
अमेरिकी अधिकारीका अनुसार समझदारीका प्राविधिक पक्षमा वार्ता जारी रहनेछ र हालका लागि दुवै पक्षले सैन्य हमला रोकेका छन्। अमेरिकी सञ्चारमाध्यम एक्सिओस र सीएनएनका अनुसार थप वार्ता मङ्गलबार कतारको दोहामा हुने अपेक्षा गरिएको छ।
यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट पुनः आक्रमण भए अमेरिकाले कडा सैन्य जवाफ दिने चेतावनी दोहोर्याएका छन्।
पाकिस्तानको मध्यस्थतामा युद्धविरामको समझदारी भए पनि पछिल्ला दिनमा दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै सीमित आक्रमण गरेका थिए। आइतबार पनि अमेरिकी सेनाले इरानका १० सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ भने इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य शिविरलाई निशाना बनाएको दाबी गरेको छ।

