कैलालीको गोदावरी नगरपालिकास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत सञ्चालित गेटा अस्पतालमा रेडियोलोजिस्ट चिकित्सकको अभाव भएपछि भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ।
अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार दुई महिनाअघि रेडियोलोजिस्ट डा. होम पन्तको कोशी अस्पतालमा सरुवा फिर्ता भएपछि उहाँले जागिरबाट राजीनामा दिनुभएको थियो। त्यसयता अस्पतालमा नयाँ रेडियोलोजिस्ट नियुक्त हुन नसक्दा यी दुवै सेवा सञ्चालन हुन सकेका छैनन्।
यसअघि दैनिक करिब २० जनाले भिडियो एक्सरे सेवा लिने गरेका थिए। सेवा बन्द भएपछि अहिले बिरामीहरू आवश्यक परीक्षणका लागि निजी अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा जान बाध्य भएका छन्।
यद्यपि, गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षणका लागि आवश्यक भिडियो एक्सरे भने स्त्री तथा प्रसूति रोग विशेषज्ञ (गाइनोकोलोजिस्ट) मार्फत सञ्चालन भइरहेको अस्पतालले जनाएको छ।
रेडियोलोजिस्ट नहुँदा म्यामोग्राफी (स्तन एक्सरे) सेवा पनि पूर्ण रूपमा बन्द भएको छ। म्यामोग्राफी परीक्षणको रिपोर्ट तयार गर्न रेडियोलोजिस्ट अनिवार्य हुने भएकाले विशेषज्ञ अभावमा सेवा रोकिएको सूचना अधिकारी कार्कीले बताउनुभयो। यो सेवा सुदूरपश्चिम प्रदेशमै पहिलोपटक गेटा अस्पतालबाट सञ्चालनमा ल्याइएको थियो।
६ सय शय्याको भौतिक पूर्वाधार निर्माण सम्पन्न भए पनि अस्पतालमा हाल ५० शय्या मात्रै सञ्चालनमा छन्। सेवा विस्तारका लागि स्थानीयले पटक–पटक माग गर्दै आए पनि सञ्चालनमा रहेका सेवा नै पूर्ण क्षमतामा चल्न सकेका छैनन्। पूर्वाधार तयार भइसकेका आईसीयू र एनआईसीयू सेवा समेत अझै सञ्चालनमा आउन नसकेको अवस्था छ।

