अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि इरानबाट अझै पनि सुरक्षा खतरा रहेको पाइएको छ। पछिल्लो समय इरानबाट सम्भावित मिसाइल आक्रमणको सूचना पाएपछि ट्रम्पले गोप्य रूपमा आफ्नो विमान परिवर्तन गरेर यात्रा गरेको खुलासा भएको छ।
गत महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट अमेरिका फर्किने क्रममा ट्रम्पले नियमित रूपमा प्रयोग गर्ने राष्ट्रपतीय विमान ‘एयर फोर्स वान’ प्रयोग नगरी वैकल्पिक विमानबाट यात्रा गरेको बताइएको छ। उक्त घटनाबारे ह्वाइट हाउसका अधिकांश कर्मचारी र सञ्चारमाध्यमलाई समेत पूर्वजानकारी दिइएको थिएन।
अमेरिकी अधिकारीहरूका अनुसार इरानबाट एयर फोर्स वानलाई लक्षित गरी सम्भावित मिसाइल आक्रमण हुन सक्ने विश्वसनीय सूचना पाएपछि यस्तो सुरक्षा उपाय अपनाइएको थियो। ट्रम्पलाई विमानसम्म पुर्याउन र फर्काउँदा समेत उनलाई क्याटरिङ ट्रकभित्र राखेर गोप्य रूपमा ओसारिएको बताइएको छ।
यो घटनाले ट्रम्प र इरानबीचको लामो समयदेखिको तनाव तथा अमेरिकी राष्ट्रपतिमाथि रहेको व्यक्तिगत सुरक्षा चिन्तालाई पुनः उजागर गरेको छ।
इरानमाथि अमेरिकी तथा इजरायली सैन्य कारबाही सुरु भएको केही समयपछि ट्रम्पले आफूविरुद्ध इरानले विगतमा गरेको भनिएका हत्या प्रयास र षड्यन्त्रसँग त्यसलाई जोडेर टिप्पणी गरेका थिए। अमेरिकी रक्षा सचिव पिट हेगसेथले पनि इरानले ट्रम्पलाई मार्ने प्रयास गरेको र अन्ततः ट्रम्पले नै त्यसको जवाफ दिएको बताएका थिए।
ट्रम्पमाथि इरानबाट आउने धम्की भने नयाँ होइन। सन् २०२० मा ट्रम्पको पहिलो कार्यकालमा अमेरिकी सेनाले इरानी रिभोलुसनरी गार्डका वरिष्ठ कमान्डर कासिम सुलेमानीलाई क्षेप्यास्त्र आक्रमणमा मारेपछि इरानी नेताहरूले ट्रम्पसहित अमेरिकी उच्च अधिकारीविरुद्ध बदला लिने चेतावनी दिएका थिए।
त्यसपछि ट्रम्पलाई लक्षित गर्दै इरानमा विभिन्न किसिमका धम्कीपूर्ण गतिविधि देखिएका थिए। अमेरिकाले सन् २०२२ मा पूर्वराष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई लक्षित गरी हत्या योजना बनाइएको आरोपसमेत लगाएको थियो।
त्यसैगरी, सन् २०२४ को जुलाईमा अमेरिकी कानून कार्यान्वयन निकायले इरानी रिभोलुसनरी गार्डसँग सम्बन्ध रहेको आरोप लागेका पाकिस्तानी नागरिक आसिफ मर्चेन्टलाई ट्रम्पको हत्या योजनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो। चार महिनापछि अफगान नागरिक फरहाद शकेरीविरुद्ध पनि ट्रम्पको हत्या षड्यन्त्रमा संलग्न भएको अभियोग लगाइएको थियो।
मर्चेन्टलाई सन् २०२६ को मार्चमा दोषी ठहर गरिएको छ भने अमेरिकी अभियोजनकर्ताहरूले इरानी रिभोलुसनरी गार्डका एक अधिकारीको निर्देशनमा काम गरेको आरोप लगाएका शकेरी भने अझै फरार रहेको जनाइएको छ।
अमेरिकी सुरक्षा विज्ञहरूका अनुसार युद्ध क्षेत्र वा त्यसको आसपास राष्ट्रपतिको यात्रा गर्दा सुरक्षा कारणले यस्ता गोप्य उपाय अपनाउनु असामान्य होइन। तर, ट्रम्पले आफ्नो राजनीतिक छविमा शक्ति र इरानको सैन्य कमजोरीलाई निरन्तर जोड दिँदै आएका बेला सम्भावित इरानी आक्रमणबाट जोगिन उनलाई गोप्य रूपमा विमान परिवर्तन गराइएको घटनाले उनको सुरक्षासम्बन्धी चुनौतीलाई थप स्पष्ट पारेको छ।

