भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्षको स्वतन्त्रता दिवसका अवसरमा लाल किल्लाबाट दिएको ७५ मिनेट लामो सम्बोधनमा ‘भारत’ शब्दलाई सबैभन्दा बढी प्राथमिकता दिएका छन्। भाषणका क्रममा उनले ‘भारत’ १११ पटक र ‘विश्व’ ६२ पटक उल्लेख गरे।
मोदीको सम्बोधनमा युवाप्रतिको उनको विशेष जोडसमेत स्पष्ट देखिएको छ। उनले ‘युवा’, ‘युवा मानिसहरू’, ‘युवा शक्ति’ र ‘साथीहरू’ जस्ता शब्दमार्फत युवालाई ५२ पटक सम्बोधन गरे। त्यस्तै, ‘मेरा प्यारा देशवासीहरू’ भन्ने सम्बोधन ४० पटक प्रयोग गरे भने ‘साथीहरू’ शब्द १० पटक दोहोर्याए।
भाषणमा भारतका सामाजिक तथा आर्थिक चुनौतीहरू पनि प्रमुख रूपमा उठाइए। मोदीले नक्सलवादसँग सम्बन्धित शब्द १५ पटक, गरिबी तथा गरिबलाई सात पटक, ‘लाल किल्ला’ ११ पटक र ‘डिजिटल’ शब्द १० पटक प्रयोग गरे।
मोदीको स्वतन्त्रता दिवस सम्बोधनमा ‘देशवासी’ शब्द लामो समयदेखि प्रमुख रहँदै आएको छ। उनले २०२५ मा करिब ५० पटक, २०२४ मा ३० पटक, २०२३ मा १५ पटक र २०२२ मा ४० पटकभन्दा बढी यो शब्द प्रयोग गरेका थिए।
त्यसैगरी, ‘परिवारका सदस्यहरू’ भन्ने सम्बोधन पनि मोदीको भाषणको परिचित शैली बनेको छ। सन् २०२३ को सम्बोधनमा उनले यो शब्दावली करिब ५० पटक प्रयोग गरेका थिए। ‘साथीहरू’ शब्द पनि २०२५ मा करिब ३५ पटक, २०२४ मा ३० पटक, २०२३ मा पाँच पटक र २०२२ मा करिब आठ पटक प्रयोग भएको थियो।
यस वर्षको सम्बोधनसँगै मोदीले लाल किल्लाबाट लगातार १३औँ पटक स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रलाई सम्बोधन गरेका छन्। यद्यपि, लगातार सबैभन्दा धेरै स्वतन्त्रता दिवस सम्बोधन गर्ने कीर्तिमान भने भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको नाममा छ। नेहरूले लाल किल्लाबाट लगातार १७ पटक स्वतन्त्रता दिवसको सम्बोधन गरेका थिए।

