काठमाडौँ । नेपालको सीमाना नजिक छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा ठूलो ताल बनेको चीनले जनाएको छ ।
चीनको जलस्रोत मन्त्रालयका अनुसार आज बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको छ । तालबाट पानी बाहिरिन थाले पनि आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान छ ।
पानीको मात्रा बढ्दा तालको बाँध फुट्ने जोखिम रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । सम्भावित जोखिमलाई ध्यानमा राख्दै चीनको जलस्रोत मन्त्रालयले तालको अवस्था नजिकबाट निगरानी गरिरहेको छ ।
बाँध फुटेमा आउन सक्ने बाढीको अवस्था अनुमान गर्न चीनले बाढीसम्बन्धी विश्लेषण पनि गरिरहेको छ । छोचेन खोला र पुरेपु त्साङ्पो नेपाल प्रवेश गरेपछि भोटेकोशी–त्रिशूली नदी प्रणालीमा जोडिन्छन् ।

