काठमाडौँ । भोटेकोसी बाढीले रसुवागढी नाकाको पूर्वाधार बगाएपछि र तातोपानी नाका पनि पहिरोका कारण बन्द भएपछि नेपाल–चीन व्यापारका लागि कोरला नाका मुख्य विकल्प बनेको छ।
चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीमा भन्सार कार्यालयसहित ४० किलोमिटरभन्दा बढी सडक र अन्य पूर्वाधार बगेका छन्। तातोपानी नाका पनि पहिरोका कारण सञ्चालनमा छैन।
भन्सार विभागले रसुवागढी र तातोपानी बन्द रहेकाले सम्भव भएसम्म कोरला नाका प्रयोग गर्न व्यवसायी र मालवाहक सवारी चालकलाई आग्रह गरेको छ।
विभागका अनुसार गत आर्थिक वर्षमा रसुवागढी, तातोपानी र कोरला नाकाबाट नेपाल–चीनबीच एक खर्ब आठ अर्ब रुपैयाँभन्दा बढीको व्यापार भएको छ।
मुस्ताङ भन्सारले भने कोरला नाकाबाट व्यापार सञ्चालन गर्न आफूहरू तयार रहेको जनाएको छ। तर कोरला क्षेत्रमा अत्यधिक उचाइका कारण अक्सिजनको समस्या रहेकाले आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्नुपर्ने भन्सारको भनाइ छ।
यसैबीच, रसुवागढी र तातोपानी बन्द हुँदा चीनको केरुङमा करिब १७० वटा नेपाली मालवाहक गाडी सामानसहित रोकिएका छन्। नाका लामो समय बन्द रहेमा दसैँ–तिहारका सामान आपूर्तिमा असर पर्नुका साथै कोरला हुँदै सामान ल्याउँदा ढुवानी खर्चसमेत बढ्ने व्यवसायीले बताएका छन्।

