काठमाडौँ — फ्रान्सले प्यालेस्टाइनलाई एक स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने तयारी गरिरहेको छ। फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभा चलिरहेको बेला औपचारिक रूपमा यो घोषणा गर्ने योजना रहेको जनाएका छन्।

राष्ट्रपति म्याक्रोंले एक्स (पूर्व ट्विटर) मा लेख्दै गाजामा जारी युद्ध तत्काल अन्त्य हुनुपर्ने, नागरिकको सुरक्षा सुनिश्चित गर्नुपर्ने, सबै बन्धकहरूलाई मुक्त गरिनुपर्ने र गाजामा ठूलो मात्रामा मानवीय सहायता पुर्याइनुपर्नेमा जोड दिएका छन्। उनले शान्तिको सम्भावना अझै बाँकी रहेको उल्लेख गर्दै फ्रान्सले त्यसका लागि आवश्यक कदम चाल्ने बताएका छन्।
फ्रान्सको यो निर्णयलाई प्यालेस्टिनी नेतृत्वले सकारात्मक रूपमा लिएको छ र स्वागत गरेका छन्। तर, इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले भने यो निर्णयको तीव्र आलोचना गरेका छन्। उनले फ्रान्सको कदमलाई ‘आतंकवादलाई इनाम दिनु’ सरह भएको टिप्पणी गरेका छन्।





