काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले नेतृत्व गरेका स्थानीय तहहरूमा अन्यत्रभन्दा राम्रो काम भएको दाबी गरेका छन्।

मंगलबार ललितपुरमा माओवादी केन्द्र समाज कल्याण विभागद्वारा आयोजित ‘सामाजिक न्याय, समावेशिता र सामाजिक संघसंस्थाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले स्थानीय तहमा प्रत्यक्ष हस्तक्षेप नगरेको तर योजना र सिद्धान्तका आधारमा अघि बढ्न सघाएको बताए।
“योजनाबद्ध रूपमा अघि बढ्न सके स्थानीय तहले अझै राम्रो गर्न सक्छन्,” प्रचण्डले भने, “तर अहिलेको अपारदर्शी संरचनाले आर्थिक चलखेल बढाएको छ। यस्तो अवस्थामा इमान्दार हस्तक्षेप जरुरी हुन्छ।”

उनले देशको राजनीति र सामाजिक संघसंस्थामा माओवादी नीतिका आधारमा हस्तक्षेप गर्न आफूहरूले चाहेको समेत उल्लेख गरे।
पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारमा रहँदा सामाजिक संघसंस्थाहरूको बजेट सरकारको बजेटसँग समानान्तर देखिने समस्या समाधान गर्न आफूले पहल लिएको दाबी पनि गरे।




