वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७ मा झरेको छ, जुन ‘राम्रो’ अर्थात् स्वस्थ श्रेणीमा पर्दछ।
केही साताअघि विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रहेको काठमाडौँ हाल सुधार हुँदै ६६औँ स्थानमा झरेको छ। AQI मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ।
गत वैशाख १० गते उपत्यकाको वायु गुणस्तर सूचकाङ्क २४७ सम्म पुगेको थियो, जुन ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्दथ्यो। त्यसबेला विज्ञहरूले प्रदूषणको उच्चस्तरले सर्वसाधारणमा श्वासप्रश्वाससम्बन्धी समस्या बढाउन सक्ने चेतावनी दिएका थिए।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार लामो समयसम्म वर्षा नहुँदा धुलो, धुवाँ र डढेलोबाट उत्पन्न प्रदूषण वायुमण्डलमा थुप्रिने गर्दछ।
“सुक्खा मौसममा वन डढेलो बढ्ने र त्यसबाट निस्किएको धुवाँ उपत्यकामा थुनिने भएकाले प्रदूषण उच्च हुन्छ,” उहाँले भन्नुभयो, “छिमेकी मुलुक भारतबाट आउने प्रदूषित हावाले पनि काठमाडौँको वायु गुणस्तरमा असर पार्ने गरेको छ।”
उहाँका अनुसार वर्षासँगै धुलो र धुवाँ पखालिनुका साथै हावाको बहाव बढ्ने भएकाले वायु गुणस्तरमा सुधार देखिएको हो। दीर्घकालीन रूपमा प्रदूषण नियन्त्रण गर्न दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
हालको सुधारले उपत्यकावासीलाई केही राहत दिएको भए पनि विज्ञहरूले प्रदूषण नियन्त्रणका स्थायी उपायमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

