सीमावर्ती क्षेत्र कैलालीको टीकापुरमा बढ्दो लागुऔषध दुव्र्यसन र बालविवाहप्रति चिन्ता व्यक्त गर्दै बालबालिकाले स्थानीय जनप्रतिनिधिसँग प्रभावकारी हस्तक्षेपको माग गरेका छन्। ‘जनप्रतिनिधिसँग बालबालिका संवाद’ कार्यक्रममा सहभागी बालबालिकाले सुरक्षित, स्वस्थ र बालमैत्री वातावरण निर्माणका लागि स्थानीय सरकारले विशेष योजना ल्याउनुपर्ने बताएका हुन्।
टीकापुर नगरपालिका–८ का पृतमबहादुर टमट्टाले सीमा नजिकको क्षेत्र भएकाले लागुऔषधको पहुँच सहज बन्दै गएको र यसले बालबालिकालाई जोखिममा पारिरहेको बताए। उनका अनुसार कतिपय किशोरकिशोरी भारत गएर लागुऔषध सेवन गर्ने प्रवृत्ति बढ्दो छ। उनले बालबालिकालाई सिर्जनात्मक गतिविधिमा व्यस्त राख्न खेलमैदान, खेल सामग्री तथा विद्यालयमा अतिरिक्त क्रियाकलापको व्यवस्था गर्न आग्रह गरे।
बालिका इशा साउँदले विद्यालय वरपर सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने कानुनी व्यवस्था भए पनि व्यवहारमा त्यसको कार्यान्वयन कमजोर रहेको गुनासो गरिन्। विद्यालय समयमै विद्यार्थीहरू सुर्तीजन्य पदार्थ तथा अन्य कुलतमा संलग्न हुने गरेको उल्लेख गर्दै उनले यसले विद्यालयको सिकाइ वातावरण र विद्यार्थीको सुरक्षामा असर पुर्याएको बताइन्।
टीकापुर–७ का रवीन्द्रबहादुर घर्तीमगरले लागुऔषध दुव्र्यसन र बालविवाह न्यूनीकरणका लागि समुदायस्तरमै रूपान्तरण कक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए। रोजगारीका लागि भारत गएका वा अभिभावकविहीन बालबालिकाको उचित निगरानी नहुँदा उनीहरू विभिन्न सामाजिक जोखिममा पर्ने गरेको उनको भनाइ थियो।
यस्तै, बालिका अङ्किता टमट्टाले विद्यालयमा स्वास्थ्य सेवा तथा आराम कक्षको अभाव रहेको बताउँदै बिरामी विद्यार्थीको हेरचाहका लागि आवश्यक व्यवस्था गर्न माग गरिन्। बालिका अर्पणा चौधरीले बालविवाह नियन्त्रणका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै व्यवहारिक सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।
बालक अरुण टमट्टाले लागुऔषध र बालविवाहका कारण विद्यालय छोड्ने विद्यार्थीको संख्या बढिरहेको भन्दै कक्षा १० सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्न आग्रह गरे। उनले विपन्न परिवारका बालबालिकालाई लक्षित शैक्षिक तथा संरक्षण कार्यक्रम आवश्यक रहेको बताए।
कार्यक्रममा सहभागी बालबालिकाले बिदाको समयमा अभिभावक र बालबालिकाका लागि व्यवहारिक शिक्षा, खेलकुद तथा अन्य सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव पनि दिएका थिए।
कार्यक्रम आयोजक बाल कल्याण सङ्घ टीकापुरकी कार्यक्रम संयोजक राधिका गिरीले कैलालीका पाँच स्थानीय तहमा बाल संरक्षण, शिक्षा पहुँच विस्तार, बालविवाह रोकथाम तथा बाल अधिकार प्रवर्द्धनका क्षेत्रमा काम भइरहेको जानकारी दिइन्। उनले बालमैत्री वातावरण निर्माणका लागि स्थानीय सरकारको लगानी वृद्धि आवश्यक रहेको बताइन्।
वल्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक मङ्गल शाहले कैलाली र कञ्चनपुरमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन प्रवर्द्धनमा सहयोग गरिरहेको उल्लेख गर्दै यस अभियानमा स्थानीय तहसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
धनसिंहपुर स्वास्थ्यचौकीका इञ्चार्ज यमबहादुर शाहले किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको उल्लेख गर्दै विद्यालयस्तरमै नियमित मानसिक स्वास्थ्य शिक्षा आवश्यक रहेको बताए। विद्यालयमा नर्स तथा आधारभूत स्वास्थ्य सेवाको व्यवस्था हुन सके धेरै समस्या समाधान हुने उनको धारणा थियो।
टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बालबालिकाको समग्र विकासका लागि खेलकुद र सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिए। उनले बालविवाह न्यूनीकरण र युवा सहभागिता बढाउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए।
कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले आगामी आर्थिक वर्षको बजेट तयारीका क्रममा बालबालिकाको सुझावलाई महत्वका साथ समेट्ने प्रतिबद्धता जनाए। उनले शिक्षा, स्वास्थ्य र सुरक्षालाई स्थानीय सरकारको प्रमुख प्राथमिकतामा राखिने उल्लेख गर्दै बालबालिकामाथिको लगानी नै समृद्ध समाज निर्माणको आधार भएको बताए।

