उमेर छिप्पिइसकेकाहरुलाई पनि कलिलै देखाउने खालको प्रविधिको, पहिलो पटकम मान्छेमा परीक्षण शुरुभएको छ ।
बुढ्यौली प्रक्रियालाई उल्ट्याउने ‘रिभर्स एजिङ’ प्रविधिको पहिलो मानव परीक्षण सुरु भएको छ । उमेरका कारण कोषिकामा आउने असरलाई उल्ट्याउने उद्देश्य राखिएको इन्जेक्सन, मान्छेमा पहिलो पटक प्रयोग गरिएको हो ।
अमेरिका बोस्टनको बायोटेक स्टार्टअप ‘लाइफ बायोसाइन्सेज’ ले, जलबिन्दुपीडित बिरामीलाई सेल्युलर रिप्रोग्रामिङमा आधारित इन्जेक्सन दिइएको जनाकारी दिएको छ । परीक्षणका लागि ती बिरामीको एउटा आँखाभित्र सुई लगाइएको बिजनेस इन्साइडरले जनाएको छ ।
उमेर बढ्दै जाँदा कमजोर भएका कोषिकालाई पुनः युवा र सक्रिय अवस्थामा फर्काउने उद्देश्य राखेर यो परीक्षण गरिएको खबर छ । वैज्ञानिकहरुले आउँदो ६ महिनासम्म यो खोपको प्रभावकारिता र सम्भावित दुष्प्रभावमाथि निगरानी राख्ने समाचारमा उल्लेख छ ।
यो प्रविधिको परीक्षण यसअघि मुसा र बाँदरमा सफलतापूर्वक गरिएको थियो । यो प्रविधि मानव शरीरका लागि सुरक्षित भए नभएको सुनिश्चित गर्न डाक्टर र वैज्ञानिकहरूले आगामी कयौं महिनासम्म बिरामीको सूक्ष्म निगरानी गर्ने बताइएको छ। यो परीक्षणका लागि शुरुमा बिरामीको आँखामा ‘सिंगल जीन थेरापी’ इन्जेक्सन दिइएको छ ।
त्यसपछि केही हप्तासम्म विशेष प्रकारको एन्टिबायोटिक औषधिको कोर्स गराइनेछ । यो एन्टिबायोटिकले शरीरभित्र पुगेर उपचारमा प्रयोग गरिएका तीनवटा जीनका लागि ‘अन स्विच’ को रूपमा काम गर्ने र कोषिकाहरूलाई पुनः प्रोग्राम गरेर युवा अवस्थातर्फ फर्काउने प्रक्रिया सुरु गर्ने वैज्ञानिकहरुको अपेक्षा छ । यसअघि गरिएको परीक्षणमा, यो प्रविधिले मुसा र बाँदरको दृष्टि सुधार गर्न सकारात्मक नतीजा देखाएको थियो ।
लाइफ बायोसाइन्सेजका प्रमुख कार्यकारी जेरी म्याकलिनले परीक्षण सफल भएमा, एजिङ थेपारी सहित चिकित्सा विज्ञानकै लागि, ठूलो र परिवर्तनकारी युग आउने बताउनुभएको छ ।

