मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बीवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथि गरिएको छानबिनमा कुनै कैफियत नदेखिएपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका सबै सवारी फुकुवा गरेको छ।
गत जेठमा चीनबाट आयात गरिएका ७७५ वटा विद्युतीय सवारीमध्ये अधिकांशलाई भन्सार जाँचपासपछि विभिन्न गन्तव्यतर्फ पठाउने क्रममा सशस्त्र प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले स्थलगत अध्ययनपछि प्रारम्भिक प्रतिवेदनमा कुनै अनियमितता नदेखिएको निष्कर्ष निकालेको जनाएको छ।
त्यसपछि सशस्त्र प्रहरी बलको केन्द्रीय निर्देशनअनुसार जोमसोम, कोरलानाका, हेमजा र कुश्मामा रोकिएका सवारी आइतबार साँझदेखि सम्बन्धित कम्पनीको जिम्मा लगाइएको हो।
सशस्त्र प्रहरीका अनुसार जोमसोममा राखिएका अधिकांश सवारी गन्तव्यतर्फ पठाइसकिएको छ भने बाँकी सवारी पनि आवश्यक प्रक्रिया पूरा गरी क्रमशः पठाइनेछ।

