‘चरन क्षेत्रः पहिचान, सम्मान र पुनःस्थापना’ भन्ने नारासहित आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस मनाइँदै छ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९४ मा जुन १७ लाई विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवसका रूपमा घोषणा गरेपछि सन् १९९५ देखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो।
मरुभूमिकरण, भूमि क्षयीकरण र खडेरीका चुनौतीबारे जनचेतना अभिवृद्धि गर्नुका साथै दिगो भूमि व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइन्छ।
राष्ट्रसङ्घका अनुसार चरन क्षेत्र पृथ्वीको आधाभन्दा बढी भूभागमा फैलिएका महत्वपूर्ण पारिस्थितिक प्रणाली हुन्। खाद्य सुरक्षा, जलचक्रको सन्तुलन, जैविक विविधता संरक्षण तथा जलवायु अनुकूलनमा यिनको महत्वपूर्ण भूमिका रहेको छ। विश्वभर करिब दुई अर्ब मानिसको जीविकोपार्जन प्रत्यक्ष रूपमा चरन क्षेत्रमा निर्भर रहेको बताइएको छ।
यस वर्षको दिवसले चरन क्षेत्रको आर्थिक, पारिस्थितिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्दै तिनको संरक्षण र पुनःस्थापनामा लगानी बढाउन विश्व समुदायलाई आह्वान गरेको छ।
राष्ट्रसङ्घका अनुसार विश्वका झन्डै आधा चरन क्षेत्र क्षयीकरणको जोखिममा रहेका छन्, जसले खाद्य तथा पानीको सुरक्षा, जैविक विविधता र ग्रामीण जीविकोपार्जनमा गम्भीर असर पार्न सक्ने चेतावनी दिइएको छ।
विशेषज्ञहरूले दिगो भूमि तथा जल व्यवस्थापन, खडेरीपूर्व तयारी र समुदायमा आधारित पुनःस्थापना कार्यक्रमलाई प्रभावकारी समाधानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

