ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा एक हजार तीन सयभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । पछिल्लो एक वर्षको अवधि अर्थात् गत आर्थिक वर्षमा एक हजार तीन सय ३१ जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका हुन् ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा भ्रमण गर्ने विदेशी पर्यटकमध्ये ७९ जना सार्क राष्ट्रका रहेका छन् भने एक हजार २५२ जना अन्य विदेशी पर्यटक छन् । सार्क राष्ट्रका पर्यटकमध्ये ११ जना महिला र ६८ जना पुरुष छन् । सार्क राष्ट्रबाहेकका विदेशी पर्यटकमा ४३९ जना महिला र ८१३ जना पुरुष छन् ।
गत आवमा ४८ जना पुरुष र एक जना महिला गरी ४९ जना नेपालीले समेत कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन् । गत आवमा सबैभन्दा बढी कात्तिक महिनामा ६०७ जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका थिए ।
त्यस्तै, सार्क राष्ट्रसहित विदेशी तथा नेपाली पर्यटक गरी भदौ महिनामा १५ जना, असोजमा २९३ जना, मङ्सिरमा ७८ जना, चैतमा १४३ जना, वैशाखमा २०४ जना र जेठमा ४० जना पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन् । साउन, पुस, माघ, फागुन र असार महिनामा भने कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्न कुनै पनि पर्यटक नआएको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा एक हजार ३८० जना पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका थिए । गत आवमा कञ्चनजङ्घा क्षेत्र भ्रमणमा आएका पर्यटकबाट कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयले भ्रमण शुल्कबापत २७ लाख २८ हजार ४०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।




