युद्धका कारण सुडानको विद्युत् प्रणाली जर्जर बन्दै गएपछि लामो समयसम्म हुने विद्युत् कटौतीबाट राहत पाउन सर्वसाधारण सौर्य ऊर्जातर्फ आकर्षित हुन थालेका छन्। तर, सौर्य प्यानल, ब्याट्री र इन्भर्टर जडानका लागि लाग्ने उच्च लागतका कारण अधिकांश परिवारका लागि यो विकल्प अझै सहज पहुँचमा पुग्न सकेको छैन।
राजधानी खार्तुमनजिकैको ओम्दुरमानमा तीन छोराछोरीसँग बस्दै आएकी ३१ वर्षीया गृहिणी रान्दा अल–मन्सुरले करिब एक वर्षदेखि घरको छतमा जडान गरिएको सौर्य प्रणाली प्रयोग गर्दै आउनुभएको छ।
“हामी निकै कष्ट भोगिरहेका छौँ,” उहाँले भन्नुभयो, “बिहान विद्यालय पुग्दा बिजुली हुँदैन, त्यसैले बालबालिकाहरू घर फर्कन बाध्य हुन्छन्। घरमा पनि बिजुली हुँदैन। यस्तो उच्च तापक्रममा उनीहरूलाई पढ्न निकै गाह्रो हुन्छ।”
सुडानी सेना र अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीच सन् २०२३ अप्रिलदेखि जारी युद्धले देशको कमजोर विद्युत् पूर्वाधारमा थप क्षति पुर्याएको छ।
यस युद्धका कारण कम्तीमा ५९ हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ भने करिब एक करोड ३० लाख मानिस विस्थापित भएका छन्। सहायता समूहहरूले वास्तविक मृतक सङ्ख्या अझ बढी हुन सक्ने बताएका छन्।
विद्युत् उत्पादनमा ठूलो गिरावट
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) का अनुसार युद्धका कारण सुडानको विद्युत् प्रणालीमा भएको क्षति करिब ८८३ अर्ब अमेरिकी डलर बराबरको छ।
विद्युत् विभागका अधिकारीहरूका अनुसार युद्धअघि करिब चार हजार ४०० मेगावाट रहेको विद्युत् उत्पादन क्षमता अहिले घटेर करिब एक हजार १०० मेगावाटमा सीमित भएको छ। आरएसएफले गरेका ड्रोन आक्रमणका कारण धेरै विद्युत् केन्द्र क्षतिग्रस्त भएका छन्।
युद्धका कारण विद्युत् क्षेत्रमा कार्यरत दक्ष जनशक्तिको समेत ठूलो कमी भएको छ। अधिकारीहरूका अनुसार सन् २०२३ यता देशका करिब आधा दक्ष विद्युत् इन्जिनियर तथा प्राविधिकले सुडान छाडिसकेका छन्।
विद्युत् उत्पादन र पूर्वाधारमा आएको गिरावटका कारण पछिल्ला महिनाहरूमा सुडानका कतिपय क्षेत्रमा दैनिक १६ घण्टासम्म विद्युत् कटौती हुने गरेको छ।
बढ्दैछ सौर्य ऊर्जाको माग
विद्युत् सङ्कट गहिरिँदै गएपछि राजधानीका सडकमा सौर्य प्यानल, ब्याट्री र इन्भर्टर बिक्री गर्ने कम्पनीका विज्ञापन तथा होर्डिङ बोर्ड पनि बढ्न थालेका छन्।
खार्तुममा सौर्य ऊर्जा प्रणालीको व्यवसाय सञ्चालन गर्दै आएका मोहे एडिन अबु–बर्कका अनुसार कम आय भएका परिवारका लागि सौर्य प्रणाली जडान गर्नु ठूलो आर्थिक बोझ भए पनि विद्युत् सङ्कटका कारण यो धेरैका लागि आवश्यक विकल्प बन्दै गएको छ।
उहाँका अनुसार सामान्य घरमा करिब १० किलोवाट क्षमताको सौर्य प्रणाली जडान गर्न करिब पाँच हजार अमेरिकी डलर खर्च लाग्न सक्छ।
“कम आय भएको परिवारका लागि यो ठूलो त्याग हो,” अबु–बर्कले भन्नुभयो, “तर यो अपरिहार्य विकल्प पनि बनेको छ।”
तर, सबै परिवारले त्यति ठूलो रकम जुटाउन सक्ने अवस्था छैन। साउदी अरबमा कार्यरत श्रीमान्ले पठाउने रकमबाट घर खर्च चलाउँदै आएकी अल–मन्सुरले आफूहरूले सौर्य ऊर्जा प्रयोग गरे पनि सुडानका सबै परिवारका लागि यस्तो प्रणाली जडान सम्भव नभएको बताउनुभयो।
विद्युत् अभावले स्वास्थ्य सेवामा समेत असर
विद्युत् सङ्कटको असर घरायसी जीवनमा मात्र सीमित छैन। स्वास्थ्य क्षेत्रमा समेत यसको गम्भीर प्रभाव परेको छ।
४३ वर्षीया सरकारी कर्मचारी तथा मधुमेहकी बिरामी मनहेल मदनीलाई इन्सुलिन सुरक्षित राख्न निरन्तर विद्युत् आवश्यक पर्छ। तर, पटक–पटक हुने विद्युत् कटौतीका कारण औषधि बिग्रिएपछि आफूले इन्सुलिन फाल्नुपरेको उहाँले बताउनुभयो।
“हरेक तीन–चार दिनमा गर्मी र विद्युत् कटौतीका कारण बिग्रिएको इन्सुलिनको सम्पूर्ण स्टक फाल्न बाध्य हुन्छु,” उहाँले भन्नुभयो।
ओम्दुरमानमा आमा र बहिनीसँग दुई शयनकक्षको घरमा बस्ने मदनीका लागि चर्को गर्मीबाट जोगिनु पनि चुनौतीपूर्ण बनेको छ। विद्युत् नहुँदा उनीहरू घरभित्रको गर्मी छल्न आँगनमा सुत्ने गर्छन्।
उहाँका अनुसार धेरै फार्मेसीले औषधि भण्डारणका लागि आवश्यक सौर्य प्रणाली जडान गर्न सक्ने अवस्था छैन। यसले अत्यावश्यक औषधिको उपलब्धतामा समेत असर पारिरहेको छ।
सुडान डाक्टरहरूको नेटवर्कले पनि लामो समयसम्म हुने विद्युत् कटौतीका कारण अस्पतालमा उपचाररत बिरामी प्रभावित हुन सक्ने चेतावनी दिएको छ। विशेषगरी निरन्तर उपचार तथा विद्युतीय उपकरण आवश्यक पर्ने मिर्गौलाका बिरामी बढी जोखिममा रहेको नेटवर्कले जनाएको छ।
विश्व बैङ्कका अनुसार सुडानको कम्तीमा ३० प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच छैन। यसको सबैभन्दा ठूलो असर ग्रामीण क्षेत्रमा परेको छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सुडानमा वर्षमा चार हजार घण्टाभन्दा बढी घाम लाग्ने भएकाले सौर्य ऊर्जा उत्पादनको ठूलो सम्भावना छ। तर, आयातित सौर्य प्रणालीको उच्च प्रारम्भिक लागत र स्थानीय मुद्राको निरन्तर अवमूल्यनका कारण सर्वसाधारणका लागि सौर्य ऊर्जामा रूपान्तरण अझै चुनौतीपूर्ण बनेको छ।

