काठमाडौँ — नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को अध्यक्षमा निर्वाचित भएको छ। अध्यक्ष पदमा निर्वाचनसँगै नेपालले उक्त परिषद्को कार्यभार औपचारिक रूपमा सम्हालेको छ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले कार्यभार ग्रहण गर्दै नेपालको निर्वाचनलाई ‘ऐतिहासिक क्षण’ भनेका छन्। उनले यस उपलब्धिलाई नेपाल र बहुपक्षीय प्रणालीप्रतिको स्थायी प्रतिबद्धताको प्रतीकका रूपमा उल्लेख गरेका छन्।
राजदूत थापाका अनुसार नेपालले अध्यक्षको हैसियतमा दिगो विकासका लक्ष्य (SDGs) प्राप्त गर्न सक्दो प्रयास गर्नेछ। साथै, हालसम्म गरिएका पहलहरूको प्रभावकारी कार्यान्वयन, साझेदारी विस्तार र बहुपक्षीय प्रणालीलाई अझ मजबुत बनाउने दिशामा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

“म बहुपक्षीयतामा विश्वास पुनःस्थापना गर्न, विभाजन घटाउन, जोखिममा परेकालाई सशक्त बनाउन र प्रतिबद्धतालाई कार्यान्वयनमा रूपान्तरण गर्न केन्द्रित रहनेछु,” थापाले भने।
यस कार्यकालका लागि परिषद्को उपाध्यक्षमा अल्जेरिया, स्पेन, डोमिनिकन गणराज्य र आर्मेनिया निर्वाचित भएका छन्।




