अमेरिकाले इरानमाथि लगाएको समुद्री नाकाबन्दी लामो समयसम्म कायम रहने सङ्केत देखिएसँगै इरानमाथिको दबाब तीव्र बन्दै गएको छ भने त्यसको प्रभाव विश्व अर्थतन्त्र र ऊर्जा बजारमा समेत देखिन थालेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको दबाब रणनीति अझ कडा पारिने बताउँदै नाकाबन्दीलाई प्रत्यक्ष सैन्य आक्रमणभन्दा प्रभावकारी कदमका रूपमा व्याख्या गर्नुभएको छ। यससँगै अन्तर्राष्ट्रिय तेल बजारमा मूल्य चार वर्षयताकै उच्च विन्दुमा पुगेको छ।
इरान र अमेरिकाबीचको कूटनीतिक संवाद ठप्प भएपछि क्षेत्रीय तनाव थप चुलिएको हो। यही क्रममा ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग टेलिफोन संवाद गर्नुभएको थियो। पुटिनले अमेरिका र इजरायलले इरानमाथि युद्ध विस्तार गरे गम्भीर परिणाम आउने चेतावनी दिएको जनाइएको छ।
तेल उद्योगका प्रतिनिधिसँगको भेटमा ट्रम्पले इरानी बन्दरगाहहरूको नाकाबन्दीलाई निर्णायक रणनीतिक कदमका रूपमा प्रस्तुत गर्नुभयो। तेहरानले कुनै पनि सम्भावित सम्झौताअघि उक्त नाकाबन्दी हटाउनुपर्ने अडान राख्दै आएको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार नाकाबन्दी उल्लङ्घन गर्ने प्रयासमा रहेका ४२ व्यापारिक जहाजलाई फर्काइएको छ, जसका कारण करिब ६ अर्ब डलर बराबरको ६ करोड ९० लाख ब्यारेल तेल बजारमा आउन रोकिएको दाबी गरिएको छ।
नाकाबन्दीका कारण इरानभित्र आर्थिक दबाब चर्किँदै गएको छ। राष्ट्रिय मुद्रा रियाल अमेरिकी डलरसामु ऐतिहासिक रूपमा कमजोर बनेको छ भने सर्वसाधारणको दैनिक जीवनयापन थप कठिन हुँदै गएको छ। तेहरानका बासिन्दाले विगतका कूटनीतिक वार्ताले जनजीवनमा कुनै सुधार नल्याएको गुनासो गरेका छन्।
अमेरिकी प्रशासनले आवश्यक परे नाकाबन्दी महिनौँसम्म कायम राख्ने तयारी गरिरहेको जनाएको छ। ह्वाइट हाउसका अधिकारीहरूका अनुसार विश्व तेल आपूर्ति व्यवस्थापन गर्दै इरानमाथिको दबाब निरन्तर बढाइने रणनीति बनाइएको छ।
यसबीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागिरहेको छ। अमेरिकी बेन्चमार्क ब्रेन्ट तेलको मूल्य १२२ डलर नाघेर करिब १२० डलरको आसपास स्थिर भएको छ भने अर्को प्रमुख सूचक तेलको मूल्य १०८ डलर हाराहारीमा कारोबार भइरहेको छ।
इरानले आफ्नो रणनीतिक अवस्थिति स्टेट अफ हर्मुज मार्फत प्रतिकारको संकेत दिएको छ। विश्वको ठूलो हिस्सा तेल यही मार्ग हुँदै ढुवानी हुने भएकाले यसको अवरोधले विश्व अर्थतन्त्रमा गम्भीर असर पार्न सक्छ।
युरोपेली मुलुकहरूबीच पनि यस विषयमा मतभेद देखिएको छ। Germany ले इरानविरुद्ध प्रत्यक्ष सैन्य समर्थन गर्न अस्वीकार गरेपछि ट्रम्पले जर्मनीमा रहेका अमेरिकी सैनिकको सङ्ख्या घटाउने चेतावनी दिनुभएको छ। जर्मन नेतृत्वले भने कूटनीतिक समाधानलाई प्राथमिकता दिनुपर्ने बताउँदै आएको छ।
युद्ध र नाकाबन्दीको प्रभाव विश्वव्यापी मानवीय संकटतर्फ पनि देखिन थालेको छ। राष्ट्रसंघीय विकास कार्यक्रमले युद्ध तथा आपूर्ति अवरोधका कारण बढेको मल र ऊर्जा मूल्यले १६० देशका तीन करोडभन्दा बढी मानिस गरिबीमा धकेलिन सक्ने चेतावनी दिएको छ।
यसैबीच, इरानले अमेरिकी नाकाबन्दी हटेपछि मात्र हर्मुज जलघाँटीमा आफ्नो नियन्त्रण खुकुलो पार्ने प्रस्ताव गरेको छ। तर वासिङ्टनले उक्त प्रस्तावप्रति विश्वास नगरेको जनाइएको छ।
क्षेत्रीय तनावको असर अन्यत्र पनि फैलिएको छ। इजरायल र इरान समर्थित समूहहरूबीचको द्वन्द्वका कारण लेबननमा हिंसा जारी छ। युद्धविराम विस्तार भए पनि आक्रमणहरू रोकिएका छैनन्, जसले मानवीय संकट थप गहिर्याएको छ।

