नेपालको राजनीतिक इतिहासमा कम्युनिष्ट आन्दोलन सामाजिक न्याय, वर्गीय समानता र शोषणमुक्त समाज निर्माणको एउटा दीर्घ राजनीतिक यात्रा थियो। किसान, मजदुर, दलित, महिला, जनजाति तथा राज्यबाट लामो समयसम्म वञ्चित समुदायका आशा, आकाङ्क्षा र संघर्षको प्रतिनिधित्व गर्ने आन्दोलनका रूपमा यसले नेपाली समाजलाई गहिरो प्रभाव पारेको छ।
राणाशासनविरुद्धको राजनीतिक चेतनादेखि जनआन्दोलन, जनयुद्ध, गणतन्त्र, संघीय लोकतान्त्रिक व्यवस्था र नयाँ संविधानसम्म आइपुग्दा कम्युनिष्ट आन्दोलनको योगदान अस्वीकार गर्न सकिँदैन । हजारौँ नागरिकले आफ्नो जीवन उत्सर्ग गरे, हजारौँ परिवारले अपूरणीय क्षति बेहोरे, र एउटा नयाँ नेपालको सपना बोकेर धेरै पुस्ताले संघर्ष गरे। तर आज एउटा असजिलो प्रश्न उठ्न थालेको छ-के आन्दोलनले आफ्ना मूल आदर्शलाई जोगाउन सकेको छ ?
आजको नेपाली समाजमा कम्युनिष्ट आन्दोलनमाथि उठ्ने सबैभन्दा गम्भीर प्रश्न यसको वर्गीय चरित्रसँग सम्बन्धित छ। एक समय सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने नेतृत्व र आजको नेतृत्वको जीवनशैलीबीचको दूरी धेरैलाई अस्वाभाविक लाग्न थालेको छ। यो आलोचना कसैको व्यक्तिगत सम्पन्नताको विरोध होइन; प्रश्न विचार र व्यवहारबीचको बढ्दो अन्तरको हो ।
जुन नेतृत्वले कहिल्यै त्याग, सादगी र जनतासँगै दुःख-सुख बाँड्ने राजनीतिक संस्कृतिको वकालत गर्थ्यो, आज त्यही नेतृत्वको ठूलो हिस्सा सुविधासम्पन्न जीवनशैलीसँग जोडिएको देखिन्छ भन्ने सार्वजनिक धारणा बलियो हुँदै गएको छ। सम्पन्न घर, महँगा सवारीसाधन, विदेशमा अध्ययन गर्ने परिवारका सदस्य, पाँचतारे होटलमा हुने निजी समारोह-यी सबै आफैँमा गलत होइनन्। लोकतान्त्रिक समाजमा प्रत्येक नागरिकलाई आर्थिक उन्नतिको अधिकार छ। तर प्रश्न त्यहाँ उठ्छ, जहाँ सार्वजनिक रूपमा सर्वहारा राजनीति गर्ने दाबी र निजी जीवनको सामाजिक, आर्थिक हैसियतबीच ठूलो अन्तर देखिन थाल्छ। जब किसान ऋणको बोझले थिचिएको हुन्छ, मजदुर न्यून ज्यालामा जीवन धानिरहेको हुन्छ, युवा रोजगारीको खोजीमा विदेशिन बाध्य हुन्छन्, त्यही समयमा जनप्रतिनिधि वा आन्दोलनका शीर्ष नेतृत्वको जीवनशैली अत्यधिक विलासी देखिएमा स्वाभाविक रूपमा प्रश्न उठ्छ-क्रान्तिको उपलब्धि जनताका लागि बढी भयो कि नेतृत्वका लागि ?
यससँगै अर्को महत्त्वपूर्ण विषय पारदर्शिताको हो । लोकतन्त्रमा सार्वजनिक जीवन बिताउने व्यक्तिले आफ्नो सम्पत्तिको स्रोतबारे स्पष्ट हुनुपर्छ। अझ समाजवाद र वर्गीय समानताको राजनीति गर्ने नेतृत्वका लागि यो नैतिक दायित्व अझ ठूलो हुन्छ । जनताले जान्न चाहन्छन्स-म्पत्ति कहाँबाट आयो ? व्यवसाय छ भने त्यसको स्वरूप के हो ? राजनीतिक पहुँच र सार्वजनिक पदको कुनै दुरुपयोग त भएको छैन ? यी प्रश्नहरूको पारदर्शी उत्तर उपलब्ध भए विश्वास बलियो हुन्छ; उत्तर नआए शंका बढ्छ र जहाँ शंका बढ्छ, त्यहाँ आन्दोलनको नैतिक आधार कमजोर बन्दै जान्छ।
कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो शक्ति केवल संगठन होइन, नैतिक विश्वसनीयता थियो। जनताले त्याग, सादगी र इमानदार नेतृत्वमाथि विश्वास गरेका कारण आन्दोलनले समाजमा गहिरो प्रभाव जमाउन सकेको थियो। तर यदि त्यही नैतिक पूँजी क्षय हुन थाल्यो भने संगठनको आकारले मात्र आन्दोलनलाई दीर्घकालसम्म जोगाउन सक्दैन। यस सन्दर्भमा सहिद परिवार, बेपत्ता व्यक्तिका आफन्त, द्वन्द्वपीडित र घाइते योद्धाहरूको अवस्था अझै पनि गम्भीर प्रश्न बनेर उभिएको छ।
धेरै परिवार आज पनि आर्थिक, सामाजिक र मनोवैज्ञानिक कठिनाइसँग जुधिरहेका छन्। उनीहरूले जुन समानतामूलक समाजको सपना देखेका थिए, त्यसको पूर्ण अनुभूति अझै गर्न सकेका छैनन्। यही वास्तविकताले आन्दोलनको आत्मसमीक्षाको आवश्यकता झन् गम्भीर बनाएको छ। कम्युनिष्ट आन्दोलनको आधार वर्गीय चेतना हो। वर्गीय चेतना भनेको गरिबीको महिमामण्डन गर्नु होइन, न त कृत्रिम सादगी प्रदर्शन गर्नु हो। यसको सार श्रमप्रतिको सम्मान, सार्वजनिक जीवनमा पारदर्शिता, शक्तिको संयमित प्रयोग, मितव्ययिता र जनतासँग निरन्तर जोडिइरहने राजनीतिक संस्कृतिमा निहित हुन्छ।
जब विचारभन्दा गुट, अध्ययनभन्दा पद, संगठनभन्दा व्यक्तिगत स्वार्थ र त्यागभन्दा अवसरवाद बलियो हुन थाल्छ, आन्दोलनको वैचारिक ऊर्जा क्रमशः क्षीण हुँदै जान्छ। त्यसैले आजको पुस्ताले प्रश्न गर्न थालेको छ , यदि सबै राजनीतिक शक्ति अन्ततः एउटै संस्कृतिमा रूपान्तरण हुने हो भने क्रान्तिको विशिष्टता कहाँ रहन्छ ?
इतिहासले यस्ता उदाहरणहरू दिएको छ। भारतको पश्चिम बंगालमा दशकौँसम्म बलियो रहेको वाम आन्दोलन अन्ततः संगठनात्मक कमजोरीभन्दा बढी जनतासँगको बढ्दो दूरी, आत्मसन्तुष्टि र वैचारिक जडताका कारण कमजोर बन्दै गयो। नेपालले पनि यस्तो अनुभवबाट आवश्यक पाठ सिक्नुपर्ने देखिन्छ।
आज आन्दोलनलाई नयाँ नाराले होइन, गम्भीर आत्मसमीक्षाले बचाउन सक्छ। नेतृत्वले आफैँसँग केही कठिन प्रश्न सोध्नुपर्ने बेला आएको छ—हामी जनताबाट किन टाढिँदै गएका छौँ ? हाम्रो जीवनशैली र राजनीतिक दर्शनबीचको दूरी किन बढ्दै छ ? के समाज परिवर्तन हाम्रो प्राथमिकता रह्यो, वा राजनीति व्यक्तिगत उन्नतिको माध्यम बन्दै गयो ? यी प्रश्नहरूको इमानदार उत्तर खोज्न सकिएन भने वैचारिक पुनर्जागरण सम्भव देखिँदैन।
क्रान्ति भाषणले मात्र जीवित रहँदैन। क्रान्ति नेतृत्वको चरित्र, सार्वजनिक आचरण र जनतासँगको सम्बन्धमा प्रतिबिम्बित हुन्छ। आन्दोलनको भविष्य बाह्य चुनौतीले भन्दा पनि आफ्नै नैतिक बलले निर्धारण गर्छ। यदि विचार र व्यवहारबीचको खाडल झन् गहिरिँदै गयो भने जनताले केवल प्रश्न मात्र उठाउने छैनन्, नयाँ राजनीतिक विकल्प पनि खोज्नेछन् ।
त्यसैले आज आवश्यकता नयाँ नारा निर्माणको होइन; नयाँ राजनीतिक चरित्र निर्माणको हो। वर्गीय चेतना, नैतिकता, पारदर्शिता, उत्तरदायित्व र जनतासँगको जीवन्त सम्बन्धको पुनर्स्थापनामै नेपाली कम्युनिष्ट आन्दोलनको भविष्य सुरक्षित रहन सक्छ।
सहिदहरूले सत्ता हस्तान्तरणका लागि होइन, समाज रूपान्तरणका लागि बलिदान दिएका थिए। ती बलिदानप्रतिको सबैभन्दा ठूलो सम्मान उनीहरूको नाममा भाषण गर्नु होइन, उनीहरूले देखाएको आदर्शलाई व्यवहारमा उतार्नु हो। नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्जागरण सम्भव छ, तर त्यसको आधार नयाँ नाराभन्दा पहिले नयाँ चरित्र बन्नुपर्छ।

