विश्व बाघ दिवसका अवसरमा आज कृषि, वन तथा वातावरण मन्त्रालयले मन्त्री गीता चौधरीको उपस्थितिमा नेपालको पछिल्लो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गर्ने भएको छ।
नेपालले बाघ संरक्षणमा विश्वमै उदाहरणीय सफलता हासिल गरेको छ। सन् २०२२ को गणनाअनुसार देशमा ३५५ वटा पाटेबाघ रहेका छन्, जुन सन् २०१० मा रहेको १२१ को तुलनामा झण्डै तीन गुणा बढी हो। नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने अन्तर्राष्ट्रिय लक्ष्यसमेत सफलतापूर्वक पूरा गरेको थियो।
हाल नेपालका चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा मात्रै बाघ पाइन्छ। सन् २०२२ को तथ्यांकअनुसार सबैभन्दा धेरै १२८ बाघ चितवन राष्ट्रिय निकुञ्जमा छन्।
पछिल्लो बाघ सर्वेक्षण गत पुसदेखि करिब तीन महिना सञ्चालन गरिएको थियो। करिब १,१०० स्वचालित क्यामेरा र २५० जनशक्तिको प्रयोग गरी गरिएको सर्वेक्षणको नतिजाले बाघको संख्या अझ बढेको अनुमान गरिएको छ।
यद्यपि बाघको संख्या बढेसँगै मानव–बाघ द्वन्द्व, बासस्थान व्यवस्थापन र समस्याग्रस्त बाघको संरक्षण चुनौतीका रूपमा देखिएका छन्। हाल देशभर १६ वटा समस्याग्रस्त बाघलाई विभिन्न निकुञ्ज र चिडियाखानामा राखिएको छ। तिनको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले चितवनको देवनगरमा ‘टाइगर सेन्चुरी’ निर्माणको योजना अघि बढाएको छ।
विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई २९ मा मनाइन्छ। सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा सम्पन्न बाघ शिखर सम्मेलनपछि बाघ संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।

