लगातारको वर्षासँगै आएको बाढी, पहिरो र नदी कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। केही सडकमा पूर्ण रूपमा यातायात बन्द गरिएको छ भने केहीमा रात्रीकालीन सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।
नेपाल प्रहरीका अनुसार आज बिहान ५ बजेसम्म काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
त्यस्तै, वर्षायामको जोखिमलाई ध्यानमा राख्दै कान्ति लोकपथमा पनि अर्को सूचना जारी नभएसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध कायम गरिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा हिलो थुप्रिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नं. २ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खसेपछि यातायात ठप्प भएको छ।
यसैबीच, लामासाँघु–रामेछाप राजमार्गको केही भाग सामाकोशी खोलाले कटान गरेपछि यातायात अवरुद्ध भएको छ। उक्त स्थानमा खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
रसुवाको पासाङ ल्हामु सडकखण्डमा पहिरो खस्दा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडक पनि अवरुद्ध भएको छ। त्यस्तै, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित घ्याकर खोलामा जलसतह बढेपछि जोमसोम–कोरला सडक पूर्ण रूपमा बन्द भएको छ।
प्रहरीका अनुसार अवरुद्ध सडकहरू खुलाउन सडक विभाग तथा सम्बन्धित स्थानीय निकायले निरन्तर प्रयास गरिरहेका छन्। यात्रामा निस्कनुअघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न पनि सर्वसाधारणलाई आग्रह गरिएको छ।

