काठमाडौं । युवा खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजित ‘प्रथम निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिप २०२६’ को उपाधि पुष्पसदन सेकेण्डरी स्कूलले जितेको छ। राजधानीका विभिन्न विद्यालयबीच भएको प्रतिस्पर्धात्मक प्रतियोगितामा राराहिल मेमोरियल स्कूल दोस्रो तथा स्वर्णिम स्कूल तेस्रो स्थानमा रहन सफल भए ।
प्रतियोगितामा एलआरआइ स्कूल का विद्यार्थी सुजल मदाई ले सर्वाधिक १४५ अंक जोड्दै ‘टप स्कोरर’ को उपाधि हात पारे भने पुष्पसदन सेकेण्डरी स्कूल का विद्यार्थी मात्रिका बुढाथोकी ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए। निसर्ग बाटिका स्कूलको आयोजनामा सम्पन्न प्रतियोगिताले मुख्य उद्देश्य नेपाली बास्केटबलको भविष्यमा लगानी गर्दै युवा खेलाडीहरूलाई अवसर सिर्जना गर्नु रहेको विद्यालयकी प्रधानाध्यापक मोनिका प्रधानले बताइन्। उनका अनुसार यस्ता प्रतियोगिताले विद्यालयहरूबीच आपसी सम्बन्ध, सम्मान र सहकार्यलाई समेत सुदृढ बनाउनेछ।
प्रतियोगिताबारे आयोजित पत्रकार सम्मेलनमा बास्केटबल नेपाल एसोसिएसनका सचिव तथा दक्षिण एसियाली बास्केटबल संघ का उपाध्यक्ष नरेन्द्र थापा ले निसर्गले विद्यार्थी खेलाडीका लागि उत्कृष्ट प्लेटफर्म निर्माण गरेको उल्लेख गर्दै आयोजक टोलीलाई धन्यवाद दिए । उनले आगामी दिनमा अझ वृहत् र स्तरिय प्रतियोगिताहरू आयोजना गर्न शुभकामना समेत व्यक्त गरे।
त्यसैगरी राष्ट्रिय बास्केटबल टोलीका प्रशिक्षक बिकुलाल महर्जनले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास र खेलप्रतिको लगाव बढाउने बताउँदै भविष्यमा राष्ट्रलाई उत्कृष्ट खेलाडी प्रदान गर्ने आधार तयार पार्ने विश्वास व्यक्त गरे।
माछागेटस्थित निसर्गको बास्केटबल कोर्ट तथा हाई स्कूल बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने, खेल कौशल अभिवृद्धि गर्ने तथा वास्तविक प्रतिस्पर्धात्मक वातावरणमा अनुभव हासिल गर्ने अवसर प्रदान गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख सुदिपराज भण्डारीले बताए ।
गत जेठ ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक निसर्ग बाटिकासहित न्यु जेथिन इंग्लिस स्कुल, एलआरआई स्कुल, भ्याली भ्यु स्कुल, स्वर्णिम स्कुल, हिलटाउन स्कुल, राराहिल मेमोरियल स्कुल र पुष्पसदन स्कुल प्रतिस्पर्धामा सहभागी थिए । प्रतियोगिता ‘राउण्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन गरिएको थियो, जहाँ प्रत्येक टोलीले अन्य सबै टोलीसँग प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताका संयोजक राजकुमार महर्जनका अनुसार विजेताको टुंगो टोलीहरूले जितेका खेलबाट प्राप्त अंकका आधारमा गरिएको हो। आयोजकका अनुसार यस प्रतियोगिताले काठमाडौंका युवाहरूलाई व्यवस्थित र उच्चस्तरीय प्रतिस्पर्धात्मक खेलको अवसर प्रदान गरेको छ। विद्यालयले आगामी दिनमा शैक्षिक उत्कृष्टतासँगै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा पनि अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जनाएको छ।

