स्याङ्जा । नेपालकै पहिलो नवग्रह मन्दिर व्यवस्थापन समितिले मन्दिरको आय–व्यय, आर्थिक व्यवस्थापन र सञ्चालन प्रक्रियाबारे सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलाइएका भ्रामक र तथ्यहीन सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिको तर्फबाट अध्यक्ष भरतराज पोखरेल, सचिव लाल बहादुर क्षेत्री र कोषाध्यक्ष बन्दना ढकालले सामूहिक प्रेस विज्ञप्ति जारी गर्दै मन्दिरको सम्पूर्ण सञ्चालन पारदर्शिता, उत्तरदायित्व र सुशासनका आधारमा भइरहेको स्पष्ट पारेको हो ।
समितिका अनुसार आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण सम्पन्न भई सार्वजनिक भइसकेको छ भने आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण अन्तिम चरणमा रहेको र सम्पन्न भएपछि सार्वजनिक गरिनेछ। मन्दिरको आम्दानी–खर्च साप्ताहिक रूपमा अभिलेखीकरण हुने, मासिक विवरण सार्वजनिक सूचना बोर्डमा टाँसिने तथा दैनिक विवरण गाउँपालिकालाई नियमित रूपमा उपलब्ध गराइँदै आएको जनाएको छ।
समितिले मन्दिरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत हुने, प्रत्येक रकमको बिल, भर्पाई र लेखा अभिलेख सुरक्षित रहेको उल्लेख गर्दै आवश्यक परे सम्बन्धित निकायलाई सबै विवरण उपलब्ध गराउन सदैव तयार रहेको जनाएको छ। हालसम्म उठाइएका विभिन्न जिज्ञासाको आधिकारिक जवाफसमेत दिइसकिएको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, नवग्रह मन्दिर कुनै व्यक्ति, समूह वा राजनीतिक स्वार्थको विषय नभई सम्पूर्ण श्रद्धालुको साझा आस्थाको केन्द्र भएको उल्लेख गर्दै तथ्यहीन प्रचारप्रसारबाट मन्दिरको प्रतिष्ठामा आँच पुर्याउने कार्य नगर्न आग्रह गरिएको छ। समितिले स्थापना कालदेखि हालसम्म कसैलाई दान वा आर्थिक सहयोगका लागि दबाब नदिइएको, श्रद्धालुले स्वेच्छाले चढाएको भेटीबाट मन्दिर व्यवस्थापन, सरसफाइ तथा भौतिक पूर्वाधार निर्माणका काम सञ्चालन हुँदै आएको पनि स्पष्ट पारेको छ।
साथै, पञ्चकन्या मन्दिरको छुट्टै व्यवस्थापन समिति रहेको र त्यसको आय–व्यय पनि सोही समितिले सञ्चालन गर्ने जानकारी दिँदै नवग्रह मन्दिरमा दर्शन गर्न आउने सबै श्रद्धालुलाई सहज सेवा, निःशुल्क प्रसाद तथा भोजन वितरणको व्यवस्था आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

