काठमाडौं । हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। वल्र्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गर्नुभएको हो।
कम्पनीका अनुसार बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले यो रकम प्रदान गरिएको हो।
बाढीका कारण वल्र्डलिंकको नेटवर्क तथा पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार कम्पनीले करिब ३ करोड ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष क्षति व्यहोरेको जनाएको छ।
आफ्नै पूर्वाधारमा ठूलो क्षति भए पनि कम्पनीले इन्टरनेट सेवा लामो समय अवरुद्ध हुन नदिन तत्कालै काम अघि बढाएको थियो। बाढी आएको तीन दिनभित्र प्रभावित नेटवर्कको मर्मत तथा पुनःस्थापना गरी सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
सडक, विद्युत् तथा अन्य पूर्वाधारमा समस्या रहेकै अवस्थामा पनि वल्र्डलिंकका प्राविधिक तथा सम्बन्धित टोलीहरू प्रभावित क्षेत्रमा खटिएर नेटवर्क मर्मत र सेवा पुनःस्थापनामा लागेका थिए।
विपद्को समयमा इन्टरनेट केवल व्यावसायिक सेवा मात्र नभई सूचना आदान–प्रदान, उद्धार, राहत र आपत्कालीन समन्वयका लागि महत्वपूर्ण माध्यम बन्ने गरेको कम्पनीको भनाइ छ।
त्यसैले विपद्को समयमा सेवा निरन्तर राख्नु पनि आफ्नो सामाजिक जिम्मेवारीको एउटा हिस्सा भएको वल्र्डलिंकले जनाएको छ।
वल्र्डलिंकले नेपाली नागरिकलाई केवल आफ्ना ग्राहकका रूपमा मात्र नहेर्ने बताएको छ। देशका विभिन्न ठाउँ र समुदायलाई डिजिटल रूपमा जोड्दै आएको कम्पनीले कठिन समयमा नागरिकको साथमा उभिनु आफ्नो सामाजिक तथा राष्ट्रिय दायित्व भएको जनाएको छ।
आफ्नै पूर्वाधारमा करोडौँ रुपैयाँको क्षति व्यहोरेको अवस्थामा पनि १ करोड १ लाख रुपैयाँ सहयोग गरेर वल्र्डलिंकले व्यवसायभन्दा माथि मानवता र सामाजिक जिम्मेवारीलाई प्राथमिकता दिएको सन्देश दिएको छ।
कम्पनीले गरेको सहयोगबाट बाढी तथा पहिरो प्रभावित नागरिकको तत्कालीन राहतसँगै पुनःस्थापना र पुनर्निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
राष्ट्र संकटमा परेको बेला सरकार, निजी क्षेत्र र नागरिक मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको भन्दै वल्र्डलिंकले आगामी दिनमा पनि सामाजिक तथा राष्ट्रिय जिम्मेवारीमा सक्रिय रहने प्रतिबद्धता जनाएको छ।

