काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह गरेका छन् ।
फ्रान्सको राजधानी पेरिसमा आयोजित ‘फ्रान्स–नेपाल जलविद्युत् लगानी सम्मेलन’लाई आज सम्बोधन गर्दै अध्यक्ष कार्कीले दक्षिण एसियामा बढिरहेको ऊर्जाको माग पूरा गर्न नेपालको जलविद्युत्को महत्त्वपूर्ण भूमिका रहने भएकाले लगानी गर्न आग्रह गरेका हुन् ।
सन् १९९९ अघि नेपालको कूल विद्युत् उत्पादन क्षमता २५० मेगावाट रहेकामा २५ वर्षमै तीन हजार ५०० मेगावाट पुगेको छ । यसमा निजी क्षेत्रको योगदान ८० प्रतिशत रहेको अध्यक्ष कार्कीले जानकारी गराए ।
त्रिशूली नदीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनमा फ्रान्सले सहयोग गरेको कार्कीले स्मरण गराए । यस परियोजनाका लागि फ्रान्सले अन्तरराष्ट्रिय वित्त निगमसँग मिलेर ४५३ मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराएको थियो । यो परियोजनाबाट नेपालको विद्युत् आपूर्तिमा उल्लेख्य सहयोग पुग्ने विश्वास लिइएको छ ।
सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट ऊर्जा उत्पादन पु¥याउने सरकारी लक्ष्यलाई ध्यानमा राख्दै, नेपालले ठूला परिमाणमा प्रत्यक्ष विदेशी लगानीलाई स्वागत गर्ने कार्कीको भनाइ छ ।

