भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै रिसोर्टले प्रभावित नागरिकको सहयोगका लागि उक्त रकम उपलब्ध गराएको हो।
रिसोर्टका प्रबन्ध निर्देशक श्यामकाजी महतले प्राकृतिक विपत्तिका कारण धेरै परिवारले आफन्त गुमाउनुका साथै घरबारविहीन हुनुपरेको र यसबाट सिंगो मुलुक नै स्तब्ध बनेको बताउनुभयो। उहाँका अनुसार बाढी तथा पहिरोको प्रभावले पर्यटन क्षेत्रसमेत दुःखी र प्रभावित बनेको छ।
“विपत्तिको यस्तो अवस्थामा पर्यटन क्षेत्रबाट पनि राज्य र बाढी प्रभावित नागरिकलाई सहयोग गर्नुपर्छ भन्ने होटल व्यवस्थापनको निर्णयअनुसार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरेका हौँ,” महतले भन्नुभयो।
उहाँले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै स्वास्थ्य सेवा, सुरक्षा र पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन सरकार, सुरक्षा निकाय, सामाजिक संघसंस्था, निजी क्षेत्र तथा आम नागरिकबीच सहकार्य र एकता आवश्यक रहेको बताउनुभयो।
प्राकृतिक विपत्तिका समयमा उद्धार, राहत तथा पुनर्स्थापनामा निजी क्षेत्रको पनि महत्वपूर्ण जिम्मेवारी रहने उल्लेख गर्दै महतले पर्यटन व्यवसायी तथा अन्य निजी क्षेत्रलाई आफ्नो क्षमता र स्रोतअनुसार सहयोगमा जुट्न आग्रह गर्नुभयो।
हिमालय दृश्य रिसोर्टको सहयोगले विपद्का समयमा निजी क्षेत्रले निर्वाह गर्न सक्ने सामाजिक उत्तरदायित्वको भूमिकालाई समेत उजागर गरेको छ।

