काठमाडौँ । साउन लागेयता देखिएको खाना पकाउने ग्यासको अभाव अझै हट्न सकेको छैन । ग्यास लिन उपभोक्ता घण्टौँ लाइन बस्न बाध्य छन् ।
बजारमा अभाव देखिए पनि नेपाल आयल निगमले भने ग्यासको आयात बढाइएको जनाएको छ । निगमका अनुसार पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिक टन ग्यास नेपाल भित्रिएको छ । यो महिना झण्डै ५५ हजार मेट्रिक टन ग्यास आयात हुने अनुमान छ ।
सामान्य अवस्थामा महिनामा ४५ देखि ४६ हजार मेट्रिक टन ग्यास आयात हुने गरेको निगमको तथ्याङ्क छ । निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले आयात बढाइएकाले विस्तारै अभाव कम हुने बताउनुभएको छ ।
ठूला चाडपर्वका बेला ग्यासको अभाव हुन नदिन सरकारले भारतसँग तीन महिनाका लागि आयात कोटा बढाउन समेत पहल गरिरहेको छ ।
यसअघि उपभोक्तालाई आधा सिलिन्डर मात्रै दिइँदै आएकोमा अहिले पूर्ण सिलिन्डर उपलब्ध गराउन थालेपछि बजारमा माग बढेको छ । मागअनुसार आपूर्ति हुन नसक्दा समस्या देखिएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बताउनुभएको छ ।
ग्यासको आपूर्ति सहज बनाउन मन्त्रालयले उद्योग र बिक्री केन्द्रको अनुगमन बढाएको छ । हिजो उद्योगमन्त्रीसहितको टोलीले बालाजुस्थित नेपाल ग्यास उद्योग र टेकुस्थित विभिन्न ग्यासका बिक्री केन्द्रको निरीक्षण गरेको थियो ।
यस्तै, ग्यास नपाएको भन्दै उपभोक्ताबाट आएका ५०० भन्दा धेरै गुनासो निगमको क्विक रेस्पोन्स टोलीले सम्बोधन गरेको जनाएको छ । निगमले आपूर्ति भइरहेको भन्दै आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।

