काठमाडौँ । घरमा कम्तीमा १५ दिन पुग्ने ग्यास मौज्दात छ भने अनावश्यक रूपमा लाइनमा नबस्न उद्योग मन्त्रालयले उपभोक्तालाई आग्रह गरेको छ ।
ग्यासको कालोबजारी र कृत्रिम अभाव नियन्त्रणका लागि मन्त्रालयको सचिवालय र नेपाल आयल निगमले अनुगमन बढाएका छन् । भक्तपुरमा कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेको मन्त्रालयले जनाएको छ ।
ग्यास अभावको नाममा कालोबजारी, कृत्रिम अभाव वा अनियमितता गर्ने जोसुकैलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।
सरकारले पर्याप्त ग्यास आयात भइरहेको बताउँदै आएको छ । तर बजारमा देखिएको अभाव हटाउन सरकार, व्यवसायी र उपभोक्ता सबैको सहयोग आवश्यक रहेको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले एकपटकमा एक परिवारलाई एक सिलिन्डर मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ । सबैले संयमता अपनाए केही दिनमै ग्यास आपूर्ति सहज हुने मन्त्रालयको अपेक्षा छ ।

