सरकारले मुख्य सचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव कार्कीलाई प्रशासनिक नेतृत्वको सर्वोच्च पदमा नियुक्त गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार हालका मुख्य सचिव सुमनराज अर्याल ५८ वर्षे अनिवार्य उमेरहदका कारण असार २५ गतेदेखि अवकाशमा जाने भएपछि रिक्त हुने पदमा कार्कीलाई जिम्मेवारी दिइएको हो।
कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शासकीय मामिला हेर्ने सचिवका रूपमा कार्यरत थिए। सो कार्यालयमा हाल कानुनतर्फ पुष्कर सापकोटा, विकास व्यवस्थापनतर्फ किरणराज शर्मा तथा सचिव खगेन्द्रप्रसाद नेपाल पनि कार्यरत छन्।
सरकारी प्रशासन सुधारका क्षेत्रमा समेत कार्कीको सक्रिय भूमिका रहेको मानिन्छ। चैत १३ गते प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको मस्यौदा तथा तयारी प्रक्रियामा उनले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए।
भोजपुरका स्थायी बासिन्दा कार्कीले २०५३ सालदेखि निजामती सेवामा प्रवेश गरेका हुन्। उनी २०८१ भदौ २० गते सचिव पदमा बढुवा भएका थिए। लामो प्रशासनिक अनुभवका आधारमा उनी अब मुलुकको निजामती प्रशासनको नेतृत्व सम्हाल्ने जिम्मेवारीमा पुगेका छन्।

