विश्व बैंकको एक प्रतिवेदनले विकासशील देशले विद्युत्, इन्टरनेट, सीप र संस्थागत क्षमता विस्तारमा अहिले नै लगानी गर्न सके कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट एक दशकभित्रै तीव्र विकास हासिल गर्न सक्ने देखाएको छ ।
विश्व बैंकको विश्व विकास प्रतिवेदन २०२६ : द प्रमिस अफ आर्टिफिसियल इन्टेलिजेन्स अनुसार विकासशील देशमा एआईको मुख्य प्रभाव रोजगारी खोस्नेभन्दा पनि कामको उत्पादकत्व बढाउनेतर्फ हुने देखिएको छ ।
प्रतिवेदनअनुसार विकासशील अर्थतन्त्रका १६.२ प्रतिशत रोजगारीमा एआईले उत्पादकत्व बढाउने सम्भावना छ भने उच्च आय भएका देशमा यस्तो सम्भावना १८.७ प्रतिशत छ । अर्कोतर्फ उच्च आय भएका देशमा १४.२ प्रतिशत रोजगारी एआई स्वचालनको जोखिममा रहे पनि विकासशील देशमा यो जोखिम ४.५ प्रतिशत मात्रै रहेको उल्लेख छ ।
विश्व बैंकले स्वास्थ्य, शिक्षा, कृषि, न्याय सेवा, कर प्रशासन र सामाजिक सुरक्षाजस्ता क्षेत्रमा स्थानीय आवश्यकता अनुसार साना तथा कम लागतका एआई उपकरण प्रयोग गर्न सकिने जनाएको छ ।
तर, आवश्यक पूर्वाधार र नीति तयार नगरे एआईले देशबीचको दूरी बढाउने, असमानता गहिर्याउने र बजार केही कम्पनीको नियन्त्रणमा पुग्ने जोखिम रहेको प्रतिवेदनले चेतावनी दिएको छ ।
प्रतिवेदनले विकासशील देशका लागि तीन चरणको रणनीति सुझाएको छ । पहिलो चरणमा उपलब्ध एआई प्रविधि प्रयोग गर्ने, दोस्रोमा स्थानीय भाषा र आवश्यकताअनुसार अनुकूल बनाउने र तेस्रो चरणमा आफ्नै उन्नत एआई विकासतर्फ अघि बढ्ने सुझाव दिइएको छ ।
विश्व बैंकले एआईको लाभ लिन विद्युत् पहुँच, इन्टरनेट, डेटा, कम्प्युटिङ क्षमता, दक्ष जनशक्ति र संस्थागत सुधारमा तत्काल लगानी गर्नुपर्ने जनाएको छ । साथै जिम्मेवार एआई प्रयोग, डेटा सुरक्षा र नागरिकको विश्वास कायम राख्न स्पष्ट मापदण्ड र कानुनी व्यवस्था आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

