काठमाडौँ । फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ फिफाका लागि कीर्तिमानी आर्थिक सफलता दिलाएको छ ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको जानकारी दिएका छन् । जुन प्रतियोगिता सुरु हुनुअघि गरिएको ११ अर्ब डलरको अनुमानभन्दा उल्लेखनीय रूपमा बढी हो ।
फिफाले सदस्य राष्ट्रका फुटबल संघहरूलाई दिएको जानकारीअनुसार टिकट बिक्री, हस्पिटालिटी प्याकेज र दोस्रो बजारमा टिकट कारोबारबाट आम्दानी अपेक्षाभन्दा धेरै बढेको हो । सेकेन्डरी बजारमा टिकट खरिद–बिक्री हुँदा फिफाले खरिदकर्ता र विक्रेता दुवैबाट १५–१५ प्रतिशत शुल्क लिने व्यवस्था छ ।
यो कीर्तिमानी आम्दानीपछि विश्वभरका सदस्य फुटबल संघहरूले थप आर्थिक सहयोग प्राप्त गर्ने अपेक्षा छ । यद्यपि, रकम कुन आधारमा र कति वितरण गर्ने भन्ने विषयमा फिफाले अझै अन्तिम निर्णय गरिसकेको छैन ।
विश्वकप आयोजनाका क्रममा विभिन्न विवादका कारण आलोचना खेपिरहेका फिफा अध्यक्ष इन्फान्टिनोका लागि यो वित्तीय उपलब्धिलाई ठूलो सफलताका रूपमा हेरिएको छ ।
आगामी मार्चमा हुने फिफा अध्यक्षको निर्वाचनअघि उहाँले २०० भन्दा बढी सदस्य राष्ट्रको समर्थन प्राप्त गरिसकेको बताइएको छ । विश्वकपबाट प्राप्त ठूलो आम्दानीका कारण थप अनुदानको अपेक्षामा रहेका धेरै सदस्य संघले पनि अहिले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छैनन् ।

