परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ र गतिशील बनाउने विश्वास व्यक्त गरिएको छ। वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमणमा रहनुभएका मन्त्री खनालले भारतीय समकक्षी डा. एस जयशङ्करसँग उच्चस्तरीय प्रतिनिधिमण्डल वार्ता गर्नुभएको हो।
भारतका विदेशमन्त्री डा. जयशङ्करको निमन्त्रणामा गत शुक्रबार नयाँदिल्ली पुग्नुभएका मन्त्री खनालले शनिबार भएको वार्तामा विकास साझेदारी, व्यापार तथा पारवहन, ऊर्जा सहयोग, सम्पर्क सञ्जाल विस्तार तथा जनस्तरीय सम्बन्ध सुदृढीकरणलगायत विविध विषयमा छलफल गर्नुभयो।
दुवै पक्षले नेपाल–भारत सम्बन्धका समग्र आयामको समीक्षा गर्दै क्षेत्रीय तथा बहुपक्षीय चासोका विषयमा समेत विचार आदानप्रदान गरेका थिए। वार्ताका क्रममा द्विपक्षीय सहकार्यका विभिन्न क्षेत्रमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै नवप्रवर्तन, स्टार्टअप, डिजिटल प्रविधि तथा वित्तीय क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता दोहोर्याइएको थियो।
नेपाल–भारतबीचको बहुआयामिक साझेदारीलाई अझ मजबुत बनाउँदै नयाँ उचाइमा पुर्याउन दुवै देशले प्रयास तीव्र पार्ने सहमति जनाएका छन्। यस क्रममा नेपाल–भारत पारस्परिक कानुनी सहायता सम्झौता (एमएलएए) कार्यान्वयनका लागि आवश्यक आन्तरिक प्रक्रिया पूरा भएकोमा स्वागत व्यक्त गरिएको छ। उक्त सम्झौताले सीमापार अपराध अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियामा थप प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ।
भेटवार्तापछि भारतले सन् २०१५ को भूकम्पपछिको पुनःनिर्माण सहयोग कार्यक्रमअन्तर्गत निर्माण सम्पन्न भएका ७२ स्वास्थ्य संस्था र १२ सांस्कृतिक सम्पदा संरक्षण परियोजना नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ।
भ्रमणका क्रममा नेपाल र भारतबीच डिजिटल भुक्तानी प्रणालीमा पनि महत्वपूर्ण उपलब्धि हासिल भएको छ। मन्त्रीद्वयले संयुक्त रूपमा भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपिआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीचको ‘पियर–टु–पियर’ (पीटुपी) आबद्धताको शुभारम्भ गर्नुभएको छ। यसबाट सीमापार व्यक्तिगत विप्रेषण तथा डिजिटल कारोबार थप सहज हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, बहुभाषिक डिजिटल सेवा प्रवर्द्धन गर्ने उद्देश्यले भारतको ‘इण्डिया भाषिनी’ र काठमाडौँ विश्वविद्यालयबीच ‘भोइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्म विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नयाँदिल्ली बसाइका क्रममा मन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो। भेटहरूमा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सहकार्य तथा समसामयिक विषयमा छलफल भएको बताइएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणले दुवै देशका जनताको अपेक्षाअनुसार साझेदारी विस्तार गर्ने विषयमा नयाँ दृष्टिकोण र ऊर्जा प्रदान गरेको छ। साथै, नेपाल र भारतबीचको नियमित उच्चस्तरीय संवाद तथा भ्रमण आदानप्रदानको परम्परालाई समेत थप मजबुत बनाएको छ।
भारतले आफ्नो ‘छिमेक पहिले’ (Neighbourhood First) नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राख्दै आएको छ। यही सन्दर्भमा भएको मन्त्री खनालको भ्रमणले आपसी विश्वास, समझदारी र सहकार्यलाई थप उचाइमा पुर्याउने दिशामा महत्वपूर्ण योगदान दिएको विश्लेषण गरिएको छ।
