युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँग जारी युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष संवाद गर्न तयार रहेको बताएका छन्। खुला पत्रमार्फत उनले दुवै देशबीचको लामो द्वन्द्वलाई सम्मानजनक र दिगो समाधानतर्फ लैजान वार्ता आवश्यक रहेको उल्लेख गरेका हुन्।
जेलेन्स्कीले कुनै पनि शान्ति सम्झौताले भविष्यमा पुनः युद्ध नदोहोरिने सुनिश्चितता दिनुपर्ने धारणा राख्दै वार्ता स्विट्जरल्याण्ड, टर्की वा कुनै अरब मुलुकमा हुन सक्ने सुझाव दिएका छन्।
उनले वार्ताको अवधिमा पूर्ण युद्धविराम लागू गर्न युक्रेन तयार रहेको जनाउँदै संयुक्त राज्य अमेरिका लगायतका अन्तर्राष्ट्रिय साझेदारले त्यसको कार्यान्वयन र अनुगमनमा सहयोग गर्न सक्ने बताएका छन्।
यद्यपि रूसले युद्धविरामको प्रस्ताव अस्वीकार गरेमा युक्रेन आफ्नो सार्वभौमिकता र अस्तित्वको रक्षाका लागि संघर्ष जारी राख्ने उनले स्पष्ट पारेका छन्।
यस विषयमा प्रतिक्रिया दिँदै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसले युद्धविरामसम्बन्धी प्रस्तावलाई सकारात्मक रूपमा लिएको र जेलेन्स्कीले जुनसुकै बेला मस्को भ्रमण गर्न सक्ने बताएका छन्। उनले राष्ट्रपति पुटिनले खुला पत्रको अध्ययन गरिरहेको र त्यसबारे थप धारणा चाँडै सार्वजनिक गरिने जानकारी दिएका छन्।
हालसम्म कूटनीतिक प्रयासहरू प्रभावकारी हुन नसकेको अवस्थामा दुवै पक्षबीच सार्वजनिक सन्देशमार्फत संवाद अघि बढेको देखिएको छ। यसैबीच पुटिनले कुनै पनि दीर्घकालीन समाधानले रूसका सुरक्षा चासो र युद्धका मूल कारणलाई सम्बोधन गर्नुपर्ने अडान दोहोर्याएका छन्।
